सशस्त्र प्रहरीमा एआईजीको रिक्त पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा

सशस्त्र प्रहरीमा एआईजीको रिक्त पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 1K
    Shares

काठमाडौँ, २ मङ्सिर २०८३।

सशस्त्र प्रहरी बलमा डेढ महिनादेखि अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त छ।

आचरणविपरीत काम गरेको भन्दै सरकारले एआईजी वंशीराज दाहाललाई असोज २३ गते बर्खास्त गरेपछि उक्त पद खाली भएको हो। गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि दाहालले अपिल गरेका छैनन्। अब सरकारले रिक्त पदमा बढुवा गर्ने तयारी गरेको छ।

को-को प्रतिस्पर्धामा ?

एआईजी बढुवाका लागि तीन जना डीआईजी मुख्य प्रतिस्पर्धी छन् — सुरेशकुमार श्रेष्ठ, दिपेन्द्र शाह र पुरुषोत्तम थापा।

उनीहरू तीनैजना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचबाट अन्जनीकुमार पोखरेल यसअघि नै एआईजीमा बढुवा भइसकेका छन्।

तीनैजना पोखरेलसँगै २०७९ फागुन पहिलो साता डीआईजी भएका थिए। त्यतिबेला चारैजना एकसाथ डीआईजी बनेका थिए।

त्यतिबेला दोस्रो वरियतामा बढुवा भएका पोखरेल एआईजी बन्दा डीआईजीको पहिलो वरियतामा रहेका श्रेष्ठ भने छुटेका थिए। यसपटक पनि उनी बढुवा हुने निश्चित छैन।

डीआईजीको दोस्रो वरियतामा दिपेन्द्र शाह र तेस्रोमा पुरुषोत्तम थापा छन्। उनीहरूमध्येबाटै एआईजी बन्ने सम्भावना बढी छ।

को कहाँ छन् ?

सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। दाहाल बर्खास्त भएपछि सीमा सुरक्षा विभाग खाली छ। त्यहाँ अहिले डीआईजी सुरेश श्रेष्ठ कार्यरत छन्।

दिपेन्द्र शाह इन्टेलिजेन्स ब्युरोका प्रमुख र पुरुषोत्तम थापा मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।

यही ब्याचका दिपक अधिकारी, मनिष थापा र कृष्ण ढकाल पनि डीआईजी भइसकेका छन्। तर उनीहरू श्रेष्ठ, शाह र थापाभन्दा पछि बढुवा भएकाले अहिले एआईजी बन्ने सम्भावना कम छ।

आईजीपीको दौड पनि यही टोलीबाट

हालका आईजीपी नारायणदत्त पौडेल २०८४ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश हुनेछन्। त्यसपछि एआईजी गणेश ठाडा मगर आईजीपी बन्ने सम्भावना छ। उनी २०८२ जेठमा एआईजी भएका थिए।

मगरले नेतृत्व पाए करिब १५ महिना प्रमुख रहनेछन्। त्यसपछि भने यही पहिलो ब्याचबाटै संगठनको नेतृत्वमा पुग्नेछ। जो बढुवा हुन्छ, उही सशस्त्र प्रहरीमै भर्ना भएर नेतृत्व गर्ने पहिलो आईजीपी बन्नेछ।

अहिलेसम्म सशस्त्र प्रहरीमा नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूले मात्रै नेतृत्व गरेका छन्।

अबको नेतृत्वका लागि अन्जनीकुमार पोखरेलसँग अहिले बढुवा हुने एआईजीबीच प्रतिस्पर्धा हुनेछ। पोखरेल अहिले मानव स्रोत विभागमा छन्।

पोखरेलकै नेतृत्वमा बनेको छानबिन समितिले दाहालले आचरणविपरीत काम गरेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो।

प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग एआईजी दाहालले संवाद गरेको र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यालयमै पुगेर भेटेको खुलेको थियो।

एआईजीको चार वर्षे पदावधि पूरा भएपछि एक वर्ष थप गर्ने फाइल तयार भए पनि सरकारले थप गर्नुको सट्टा उनलाई बर्खास्त गरेर पठाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार