बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ यात्रु घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ मंसिर २०८३
  • 190
    Shares

सिन्धुली, १ मंसीर २०८३।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलवार दिउँसो २ बजे मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परेको थियो । दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १४ जना सवार थिए । उनीहरू सबै घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने बाँकी पाँच जनाको नाम, ठेगाना तथा अन्य विवरण खुल्न सकेको छैन ।

पहिचान खुलेका घाइतेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपक कुमार दास रहेका छन् । त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।

यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियांका साह र उनका तीन छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा तीन वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएका छन् ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको हो ।

दुर्घटनामा परेका बाँकी पाँच जनाको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै, माइक्रोबस दुर्घटनाको कारण र घटनासम्बन्धी अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार