काठमाडौं, २२ कात्तिक २०८३ ।
तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा-मीठा खानेकुरा खुवाएर सम्मान गरिँदैछ ।
यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
धार्मिक विश्वासअनुसार आज कुकुरलाई मीठो खुवाएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिन्छन् । कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने विश्वास गर्नेहरू पनि बढ्दै गएका छन् ।
आजै नरक चतुर्दशी पनि परेको छ । बिहानै नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बगाएमा मृत्युपछि नरक दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।