पोखरा, २१ कार्तिक २०८३।
गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ। प्रदेश खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो ।
बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको औपचारिक जानकारी शुक्रबार मन्त्रालयमार्फत परिषद्मा पठाइएको छ। अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
शर्मामाथि मापदण्ड नपुगी पदक वितरण गरेको, सिफारिस समितिको निर्णयबिनै पदक बाँडेको र समितिमा रहेकै व्यक्ति र उनीहरू आबद्ध संस्थालाई पदक दिएको आरोप थियो।
विवादपछि मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले वितरण प्रक्रियामा गम्भीर त्रुटि र लापरबाही भएको निष्कर्षसहित कारबाही गर्न सिफारिस गरेको थियो। समितिको प्रतिवेदनका आधारमा मागिएको सातदिने स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले पदमुक्त गर्ने निर्णय गरेको हो।
यसअघि नै शर्माले कारबाही रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग सक्कल कागजात र प्रतिवेदन झिकाउन आदेश दिएको छ भने मंसिर २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
पदमुक्त भएपछि शर्माले मुद्दा विचाराधीन रहेकै अवस्थामा हटाउनु गलत भएको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन्। उनले पदक वितरणको निर्णय आफू एक्लैले नगरेको र छानबिन समितिका संयोजक नै मन्त्रालयका सचिव भएकाले स्वार्थ बाझिएको आरोप पनि लगाएका छन्।