पोखरा, २१ कार्तिक २०८३।
सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।
पटक–पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनशन तोडाएका हुन् ।
डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।’
डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
सहमतिका मुख्य बुँदा :
- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत कार्यक्रम सञ्चालनको अनुमति र सिट संख्या निर्धारण गर्ने
- नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट थप मापदण्डअनुसार भए/नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्य संयोजकत्वको ५ सदस्यीय समिति गठन गर्ने, प्रतिवेदनपछि मात्र भर्नाका लागि म्याचिङ गर्ने
- अनुमति वा सिट थपमा मापदण्डविपरीत काम वा स्वार्थको द्वन्द्व देखिएमा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलाई कारबाही गर्ने
- दशरथ चन्द विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गर्न २ हप्ताभित्र अध्यादेश ल्याउने, त्यसपछि डा. केसीको सुझावअनुसार नयाँ पदाधिकारी नियुक्ति सुरु गर्ने
- २४औं सत्याग्रहका क्रममा २०८३ साउन ११ गते भएको सहमतिका बाँकी सबै बुँदा अक्षरशः कार्यान्वयन गर्ने
- डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज/प्रतिष्ठान स्थापना गर्न बजेट र पूर्वाधारलाई तीव्रता दिने, बर्दिबासमा मेडिकल कलेज स्थापना प्रक्रिया तत्काल अघि बढाउने
यस्तो छ सहमतिपत्र :
