पोखरा, ११ कात्तिक २०८३ ।
पोखरा लेकसाइडमा आफुले नै जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा १९ वर्षीया एक महिला पक्राउ परेकी छिन।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१, लामेआहाल घर भै हाल पोखरा ६, लेकसाइडस्थित स्ट्रीट नम्बर ८ भित्रको गल्लीमा बसोबास गर्दै आएकी ९ वर्षीया निरुता नेपाली रहेकी छिन।
उनले गएको कात्तिक ३ गते आफ्नो डेराकोठामा नवजात शिशु जन्माएको र हत्या गरी शौचालयमा फालेर भागेको प्रहरीले जानकारी दिएको छ। शौचालयमा पानी जमेको देखेपछि जाँच गर्दा सालनालसहितको पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। उक्त मृत नवजात शिशु सोही घरमा डेरा गरी बस्ने निरुता नेपालीको हुनसक्ने खुलेको बताइएको छ। उक्त तथ्य खुलेपछि प्रहरीले नेपालीलाई सोही मध्यराती पोखरा महानगरपालिका–२१, लामेआहालबाट पक्राउ गरेको प्रहरीले बताएको छ।
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ मा बिबाह भएकी नेपालीबिरुद्ध कास्की जिल्ला अदालतबाट कात्तिक ४ गतेदेखि लागू हुने गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार निरुता नेपाली र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीबिच २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो। निरुता गर्भवती भएको कुरा उनलाई २०८२ साल माघ महिनामा थाहा भएको थियो। त्यसपछि निरुतासँग आफ्नो भेट नभएको उनले बताएका छन्। राजनले फोनमा कुरा गर्दा निरुताले आफ्नो कोखाको बाछा खेर फालिसकेको बताएको जानकारी प्रहरीलाई दिएका छन्।
घटनाको वास्तविक कारण, नवजात शिशुको मृत्युको अवस्था तथा अन्य तथ्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।