स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो गाडी दुर्घटना : ६ जनाको मृत्यु, तीन जना घाइते

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो गाडी दुर्घटना : ६ जनाको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 1.4K
    Shares

गुल्मी, ९ कार्तिक २०८३।

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो गाडी दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डबाट करिब दुईसय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा स्कारपियो चालक स्याङ्जा वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिपकुमार बाग्ले, वालिङ-१० का शिव पराजुली, गुल्मी कालीगण्डकी गाउँपालिका-१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्। घटनास्थलमै मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी छ।

त्यस्तै घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारमा खटिएको थियो।

प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार घटनाबारे थप विवरण संकलन र मृतक तथा घाइतेको पहिचानको काम भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार