धनुषामा गएराती ससुराली पुगेर श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषामा गएराती ससुराली पुगेर श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८३
  • 1.5K
    Shares

धनुषा, ८ कार्तिक २०८३ ।

धनुषामा गएराती एक पुरुषले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् र उनका चार वर्षीय छोरा घाइते अवस्थामा भेटिएका छन्।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा गएर श्रीमती रिना यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, यादव गएराति करिब ९ बजे ससुराली पुगेका थिए। बिहान करिब २ बजे सुतिरहेकी ३० वर्षीया श्रीमती रिना यादव र उनीसँगै सुतेका चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा रिनाको मृत्यु भएको छ भने बालकको दाहिने तिघ्रामा चोट लागेको छ। घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कू बरामद गरेको छ। घटनापछि फरार भएका उमेश घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार