महाकाली नदीको पुलमुनि तारमा अड्किएको अवस्थामा मृत भेटिए सशस्त्रका असई थारु

महाकाली नदीको पुलमुनि तारमा अड्किएको अवस्थामा मृत भेटिए सशस्त्रका असई थारु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 646
    Shares

पोखरा, २८ असोज २०८३।

महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा बुधबार उनको शव फेला परेको हो।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी थारु गत शनिबार नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। नदीको तीव्र बहावका कारण उनको शव निकाल्न भने कठिनाइ भइरहेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार शव रहेको स्थान पहिचान भइसकेको छ। भत्किएको पुलको तारमा शव अड्किएको देखिएपछि सशस्त्र प्रहरीका गोताखोर र नेपाली सेनाको टोलीले निकाल्ने प्रयास गरिरहेको छ। आवश्यक परे जेसीबी प्रयोग गरेर नदीको बहाव कम गर्ने तयारीसमेत गरिएको छ।

कसरी भएको थियो घटना?

महाकाली नदीमाथि रहेको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भत्किएपछि पुल लत्रिएको थियो। पुलसँगै नेपाल टेलिकमको तारसमेत चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले गत शनिबार दिउँसो रबर बोटको सहायताले महाकाली नदी वारपार तार तान्ने काम भइरहेको थियो। सोही क्रममा थारुको खुट्टामा तार अल्झिएको र बोट अनियन्त्रित भएर पल्टिँदा उनी नदीमा खसेर बेपत्ता भएको जनाइएको छ।

घटनालगत्तै सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। नदीको तीव्र बहावका कारण खोजीकार्यमा कठिनाइ भएको थियो। खोजीका क्रममा झोलुङ्गे पुलको तारमा शव अड्किएको अवस्थामा फेला परेको हो।

एक दिनअघि मात्रै कार्यस्थलमा हाजिर भएका थिए थारु

थारु दोधारा चाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत थिए। उनी घटनाको अघिल्लो दिन अर्थात् शुक्रबार मात्रै त्यहाँ हाजिर भएका थिए।

सञ्चार सम्पर्क पुनः स्थापना गर्न खटिएका बेला भएको यस घटनाले सशस्त्र प्रहरी संगठनमा शोक थपिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार