पोखरा, २५ असोज २०८३।
तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका धावक नरेन्द्रसिंह रावतले लगातार दोस्रो पटक जितेका छन्। पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित प्रतियोगितामा ८ किलोमिटर दूरी ३४ मिनेट ३५.८८ सेकेन्डमा पूरा गर्दै रावत च्याम्पियन बने। प्रतियोगिताकै अवसरमा पुम्दी–भुम्दीको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको छ।
उपाधिसँगै रावतले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। गत वर्षसमेत च्याम्पियन बनेका रावतले यस वर्ष पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
प्रतियोगितामा गौतम श्रेष्ठले ३५ मिनेट १६.१९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने निरज भट्ट क्षेत्री ३५ मिनेट २९.०१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए। उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
यसैगरी, धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौँ भए। छैटौँदेखि दशौँ स्थानसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर रहे।
महिलातर्फ दीर्पा बस्नेतले ४८ मिनेट १३.४६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। दोरपता कठायत दोस्रो र मीनु बुढा तेस्रो भए। त्यस्तै, यू–१६ विधामा कमल विक पहिलो, मुलुक सिंह खत्री दोस्रो र सक्षम बोहोरा तेस्रो बने।
पोखरा–२२ वडास्तरीय विधामा क्रिशल परियार पहिलो, सुयन विक दोस्रो र कमल पौडेल तेस्रो भए। भेट्रान्सतर्फ तेजबहादुर गुरुङले उपाधि जित्दा किशोर थापा दोस्रो र कमल गुरुङ तेस्रो बने। विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन पहिलो र रुसका अलेकजेन्डर दोस्रो भए।
प्रतियोगिताको अर्को महत्वपूर्ण पक्षका रूपमा पुम्दी–भुम्दीको पर्यटन प्रवर्द्धन तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका दुई व्यक्तित्वलाई सम्मान गरिएको छ। कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्षसमेत रहेका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको हो।
स्थानीय पर्यटन विकासमा योगदान पुर्याएका गुरुङ र खेलकुद क्षेत्रमा योगदान दिएका गोदारलाई सम्मान गरेर आयोजकले पर्यटन तथा खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्वको योगदानको कदर गरेको छ। यसअघि प्रतियोगिताका अघिल्ला संस्करणमा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङ, हिमाल आरोही तथा साहसिक पर्यटन क्षेत्रका व्यक्तित्व कुसाङ गुरुङ र वसन्त गौतम सम्मानित भएका थिए।
पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर समापन भएको थियो। पर्वतीय दौडमार्फत पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई उजागर गर्नु प्रतियोगिताको उद्देश्य रहेको थियो।
खुला विधाका विजेताबाहेक अन्य विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेता खेलाडी तथा सम्मानित व्यक्तित्वलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकाल, सशस्त्र प्रहरी बलका डीआईजी प्रवीण कँडेललगायत विभिन्न क्षेत्रका प्रतिनिधिले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
प्रतियोगिताले खेलकुद र पर्यटनलाई एकैसाथ जोड्दै पुम्दी–भुम्दी क्षेत्रको पहिचान विस्तार तथा स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।