फेवातालमा निषेधित समयमा सर्फिङ सञ्चालन गर्ने चार वटा बोट नियन्त्रणमा

फेवातालमा निषेधित समयमा सर्फिङ सञ्चालन गर्ने चार वटा बोट नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०८३
  • 2K
    Shares

पोखरा, ७ भदौ २०८३ ।

बढ्दो जल दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ६ बजेपछि फेवातालमा जलपर्यटन गतिविधि सञ्चालनमा रोक लगाए पनि नियम उल्लंघन गर्दै सञ्चालन गरिएका चारवटा सर्फिङ बोट नियन्त्रणमा लिइएको छ।

शनिबार साँझ करिब ६ः४५ बजे पोखरा महानगरपालिका–६ स्थित फेवातालमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाबाट खटिएको विपद् व्यवस्थापन टोलीले ती बोट नियन्त्रणमा लिएको हो।

फेवा रेस्क्यु टावरमा सशस्त्र प्रहरी सहायक निरीक्षक सुजितकुमार यादवको कमान्डमा खटिएको १० सदस्यीय टोलीले चारवटा सर्फिङ बोटसहित त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा पर्नेमा दुई नेपाली पुरुष र दुई विदेशी महिला रहेका छन्।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बोटलाई थप आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी निरीक्षक कमलबहादुर क्षेत्री नेतृत्वको टोलीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा बढ्दो जल दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेपछि जलपर्यटन गतिविधिमा रोक लगाएको छ। प्रहरीले तथा सशस्त्र प्रहरीले उक्त निर्णय कार्यान्वयनका लागि ताल क्षेत्रमा निगरानी बढाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार