पोखरा, ७ भदौ २०८३ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनी क्षेत्रमा टिपर सेती नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत कार्यरत निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना.१ क ७२४७ नम्बरको टिपर शनिबार नदीमा खस्दा चालक बेपत्ता भएका हुन्। चालकको पहिचान भने खुल्न बाँकी रहेको प्राप्त समाचारमा जनाइएको छ।
शनिबार दिउँसो करिब २ बजे नदीको पानीको बहावमा ट्रिपरको ढाला मात्र देखिएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट टोली घटनास्थल पुगेको थियो। घटनालगत्तै नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेका छन्।
दुर्घटनापछि चालक बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। शनिबार साँझदेखि नै बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।