म्याग्दी, ६ भदौ २०८३।
लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड म्याग्दीमा दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज एकाबिहान करिब ५ः२५ बजे अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यसको केही समयपछि बिहान करिब ५ः३० बजे रघुगंगा गाउँपालिका–२, बैसेरीस्थित सडक माथिबाट पनि लेदोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण उक्त स्थानमा समेत सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दुवै स्थानमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायको पहल भइरहेको छ।
लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो तथा लेदो खस्ने जोखिम रहेकाले बेनी–जोमसोम सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।