प्रमुख विपक्षी एमालेको विरोध कायम रहँदारहँदै संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाएको छ । सभामुख ओनसरी घर्तीले शुक्रबार राखेको कार्यव्यवस्था परामर्श समिति र तीन दलका नेताहरूका छुट्टाछुट्टै बैठकमा विपक्षी र सत्तापक्षबीच सहमति नभएपछि संसद्ले सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाएको हो ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे संसद्मा मतदान हुनेछ । शनिबार बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि मनोयनयन र साढे ४ बजे दर्ताक्रमअनुसार उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम संसद् सचिवालयले तय गरेकोई कान्तिपुरले लेखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार सहमतीय सरकार गठनका लागि आहवान गरेकी थिइन् । एक साताको समयमा पनि सहमति बन्न नसकेपछि राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन अघि बढाउन संसद्लाई आहवान गरेकी थिइन् । तर भरतपुर महानगरको मतगणना प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै प्रमुख विपक्षी एमालेको संसद् अवरोध जारी छ । मतगणना सुचारु नहुँदासम्म संसद् चल्न नदिने अडान एमालेको छ ।
तर सत्तापक्षीय दलहरू भने संवैधानिक निकायको जिम्मेवारीभित्रको विषयलाई लिएर एमालेले संसद् अवरोध गर्नु नाजायज भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियालाई अप्ठ्यारो पर्ने गरी संसद् अवरोध गर्न नहुने धारणा राखिरहेका छन् । सभामुखसँगको छलफलमा पनि सत्तारूढ दलहरूले यही धारणा राखेका थिए । ‘संसद्ले गर्ने आधारभूत जिम्मेवारीअन्तर्गतका विषय अविश्वासको प्रस्ताव, प्रधानमन्त्री निर्वाचन, बजेट जारी गर्नेलगायत सवालमा संसद् रोक्न पाइन्न,’ कांग्रेस नेता रमेश लेखकले भने, ‘संसदको अवरोध सांकेतिक रूपमा गर्ने हो, सीमारहित ढंगले अनन्तकालसम्म हुन सक्दैन र अर्को संवैधानिक निकायमा विचाराधीन रहेको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज हुन्न ।’
शुक्रबारै विपक्षी गठबन्धनको बैठकले मतगणना सुचारु हुने अवस्था नहुँदासम्म संसद् अवरोध गर्ने र त्यो कायम रहँदा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन नहुने निष्कर्ष निकालेको थियो । कार्यव्यवस्था परामर्श समिति बैठकमा फरक–फरक धारणा आएपछि सहमति खोज्नका लागि भन्दै सभामुखले अपराहन प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएकी थिइन् । बैठकमा तीनवटै दलका प्रमुख नेता गएनन्, आफ्ना प्रतिनिधिहरू मात्र पठाए । दोस्रो बैठकमा पनि दुई पक्षबीच सहमति नभएपछि सभामुख घर्तीले सचिवालयलाई सूचनामार्फत निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएकी थिइन् । सभामुख घर्तीको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दिउँसो साढे ४ बजे प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।