त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार दाङ आइपुगेका छन् । उनले केहीबेरमा उपक्षेत्रीय अस्पताल घोराहीमा छलफल गरी अनशनको तयारी गर्ने बताएका छन् ।
सरकारले यसअघि घोषणा गरेअनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने लगायतका माग राखी डा. केसी घोराहीमा अनशन बस्न थालेका हुन् । सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र त्यसको सुरुवात दाङबाट गर्ने निर्णय गरी यसअघि सम्झौता पनि भइसकेकाले उक्त कुरा सम्झाउन अनशन बस्न थालेको उनले बताए ।
स्वास्थ्य सेवा नाफामुखी नभएर सेवामुखी हुनुपर्नेमा नेपालमा त्यस्तो नभएको उनले गुनासो गरे । ‘नेपालमा नेताहरु नै स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका छन् । नेताहरु आफ्ना निजी मेडिकल कलेजको स्वीकृति गराउन लागिपरेका छन् तर सरकारी मेडिकल कलेज बनाउन ध्यान छैन,’ उनले भने, ‘नेताहरु कालो धन बचाउन स्वास्थ्यको व्यापारमा लागेका छन् । स्वास्थ्य सेवा सरकारले नै जिम्मा लिनुपर्छ । स्वास्थ्य सेवामा व्यापार गर्ने होइन ।’
स्वास्थ्य शिक्षा ९५ प्रतिशत विद्यार्थीको पहुँच बाहिर रहेको बताउँदै उनले स्वास्थ्य शिक्षा र सेवा सर्वसुलभ हुनुपर्ने नेपाली जनताको संवैधानिक अधिकार रहेको बताए । ‘यहाँ डाक्टर पढ्न करोडौं खर्च हुन्छ । सामान्य नागरिकले कसरी डाक्टर पढ्ने ?,’ उनले भने, ‘प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गरी सबैले सहजै पढ्न पाउन हुनुपर्यो । दाङमा मेडिकल कलेजको शिलान्यास गरी निर्माणको काम नथाल्दासम्म अनशन जारी रहने छ ।’