सुनसरी। नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणले नेपालमा राणकालदेखि पञ्चायत सम्मका सवै राजनीतिक परिवर्तन बास्तविक जनक्रान्ति बन्न नसकेको र राज्यसत्ता जनताको हातमा आउन नसकेकाले अव जनसत्ता प्राप्तीका लागि देस्रो शसस्त्र जनक्रान्ति जरुरी रहेको कुरामा जोड दिनुभएको छ ।
क्रान्तिकारी युवा लिग सुनसरीको दोस्रो जिल्ला अधिवेशन समारोह उद्घाटनका लागि इटहरी आई पुग्नु भएका अध्यक्ष बैद्यले स्थानीय सञ्चारकर्मी हरुसँगको कुराकानीका अवसरमा सो कुरामा जोड दिनुभएको हो ।
एक प्रश्नमा माओवादी जनयुद्धको सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड नै हाल देशको प्रधानमन्त्री रहनु भएको बर्तमान अवस्था एवम नेपालीले कष्ट दुख र परिवर्तनको अनुभूति गर्न नसक्नु अनि राज्यको मुल राजनीतिक धारमा आउँदा भारतमा भएको १२ बुँदे सहमति नै धोकापूर्ण थियो कि भन्ने हो त भन्ने प्रश्नमा अध्यक्ष बैद्यले त्यो सहमति धोकापूर्ण र हतारमा गरिएको सम्झौताको सङ्ज्ञा दिनुभयो । उहाँले जनताले रत्तिभर परिवर्तनको अनुभूति गर्न नपाउनु र मुलुक भ्रष्टहरुको पाखण्डपूर्ण नौटङ्की मञ्चन गर्ने रङ्गभूमि बनेकाले नेपाली जनताले बास्तविक परिवर्तनको महसुस गर्न बास्तविक क्रान्तितिर लाग्नु पर्ने समयले देखाई रहेको पनि अध्यक्ष बैद्यको भनाई रहेको छ ।
अध्यक्ष बैदले माओवादी नेतृत्वमा भएको क्रान्तिमा जनशक्ति अभावले जनताले चाहे जस्तो राज्यसत्ता स्थापित गर्ने क्रान्ति बन्न नसकेको स्वीकार गर्नुहुँदै माओवादी क्रान्तिमा रहेकाहरु पनि धोकेबाज थिए भने अहिले नेकपा एमाले र काङ्ग्रेसमा पनि नेपाली जनताले न्यायपूर्ण अवसर पाउनुपर्छ भन्ने नेताहरु रहेकाले बास्ताविक जनताको राज्यसत्ता स्थापित गर्नका लागि नेपाली जनताले स्वतस्फूर्त रुपमा क्रान्तिको उद्घोष गर्न सक्ने दिन आउने आफुले विश्वास लिएको छु भन्नुभयो ।
माओवादी जनयुद्धमा सक्रिय भई हाल छिन्नभिन्न अवस्था विभक्त राजनीतिक दलहरु पनि फेरि एकजुट हुन सक्लान त भन्दा अध्यक्ष बैद्यले त्यो सम्भव छैन भन्नुहुँदै जीवनभर क्रान्ति गरेकाहरुले त्यो क्रान्तिको महत्व र उर्जालाई त्यागेर गन्तब्य विराएर अन्यत्र मोडिईसकेकाले ती राजनीतिक दलबाट बास्ताविक क्रान्ति हुन्छ भन्नु भुल हुने भएकाले अव त्यो क्रान्तिका लागि नयाँ सिरावाट हेर्नु पर्ने आवश्यकता अगाडी आएको पनि उहाँको विश्लेषण रहेको छ ।
अध्यक्ष बैद्यले पहिलो पटक मुलुकको पुनसंरचनापछि भएको स्थानीय तहको निर्वाचनलाई मोर्चा बनाएर स्वीकार गरेकाले हामीले यो निर्वाचनप्रति गलत टिकाटिप्पणी गरिरहनुको औचित्य नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । साथै अध्यक्ष बैद्यले तीन दलीय सिण्डीकेटबाट विशेष विश्लेषण नै नगरी ल्याईएको संविधान जनताको संविधान बन्न नसकेको र सँगै बसेर संविधान बनाउन सघाउने मधेशवादी दलहरुको भावनालाई समेत समेट्न नसकेकाले देशवासीले जे चाहेका हुन त्यो बर्तमान संविधानले दिन सक्ला भनेर आशङ्का उब्जिन पुगेको दावी पनि गर्नुभयो ।
विश्वकै उत्कृष्ठ संविधान बनाएको दावी गरिरहेका राजनीतिक दलहरु आफै संविधान जारी भएको भोलिपल्टदेखि नै संविधान संशोधनको मुद्दा बोकेर आफै संशोधनको प्रस्ताव हाल्ने होडबाजीमा देखिएकाले पनि संविधान साँच्चिकै त्रुटीपूर्ण पो छ कि भन्ने भ्रम फैलिएको र भारतको इशारामा नेपालको राजनीति रुमल्लिन पुगेकाले हामी नेपालीले के चाहेका हौ भन्ने मुल मुद्दा नै धुमिलिएर गईरहेको पनि बैद्यको विश्लेषण रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष बैद्यले नेपाली जनताले जति नै दुख भोग्नु परे पनि असल राजनीतिक संस्कार सहितको जनताको राज्य स्थापित गराउनका लागि सवै नेपालीहरुले सचेतनापूर्वक सोच्नु पर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभएको थियो।