पोखरा, २२ पुष २०८२।
म्याग्दीमा माटो मिसिएको गिट्टी हालेर ढलान गरेको भेटे पछि जनप्रतिनिधिहरूले उक्त ढलान भत्काइदिएका छन्।
योजना अनुगमन गर्न दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ झिनडाँडामा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’ लगायतका जनप्रतिनिधिहरुले ढलान गर्न माटो मिसिएको गिट्टी प्रयोग गरेको भेटे पछि उक्त ढलान भत्काइदिएका हुन् ।
उक्त अनुगमन टोलीमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर समेत सहभागी थिए। उनीहरुले उक्त ढलान भत्काएर पुनर्निर्माण गर्न पनि लगाएका छन् ।
उक्त अनुगमन टोलीले दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको भेट्टाएको थियो ।