जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नु राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ – विप्लव (विज्ञप्ती सहित)

जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नु राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ – विप्लव (विज्ञप्ती सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 16.3K
    Shares

कालिकोट, १ जेठ । निर्वाचन खारेजी अभियानका क्रममा सरकारले हदैसम्मको दमन प्रयोग गरी जनताको हत्या गरेको भन्दै त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आन्दोलन गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । स्थानीय निर्वाचनलाई खारेज गर्ने क्रममा सरकारले गोली चलाउने आदेश दिँदा पनि देशभर जनताले सशक्त प्रतिरोध गरेको महासचिव विप्लवले बताएका छन् ।

यसक्रममा कालिकोेटको माल्कोटमा भएको घटना उल्लेखनीय रहेको विज्ञप्तीमा उल्लेख छ ।    कालिकोटको माल्कोट नरहरीनाथ गाउँपालिकाको नन्दादेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिका सदरमुकाम लग्दै गर्दा त्यहाँका जनताले प्रतिकार गरेका थिए । सो क्रममा प्रहरीले गोली चलाएर राप्रपाका उम्मेदवार धनरुप बटालाको मृत्यु भएको थियो भने अन्य तीन जनता गम्भीर घाइते भएका थिए । गोली चलाएपछि जनताले प्रहरीका हतियार नियन्त्रणमा लिई मतपेटिकासहित सबै निर्वाचन सामाग्री जलाइदिएका थिए ।

पार्टीको निर्वाचन खारेज गर्ने कार्यक्रमलाई समर्थन गर्दै माल्कोटका जनताले गरेको यो साहसिक कार्यको नेकपाका महासचिव विप्लवले उदाहरणीय जनप्रतिरोध भनेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, “जनविरोधी दलाल संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नुले राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ । त्यसमा पनि प्रचण्ड सरकारले दृढतापूर्वक जनयुद्ध लडेका र अपुरणीय बलिदान गरेका माल्कोटे जनतामाथि अपराधिक शैलीमा दमन गर्नु हदैसम्मको निन्दनीय कार्य हो ।“   महासचिव विप्लवले यसलाई प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण भएको बताएका छन् । साथै उनले कालिकोट र माल्कोटका जनताले गरेको यो प्रतिरोधलाई श्रमिक जनताको मुक्तिको महान मार्ग भएको बताएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, “जनयुद्धका प्रस्ताव र बलिदानलाई अपमान गर्ने, प्रतिक्रान्ति लादने दलाल संसदीय व्यवस्थाको विरुद्ध विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुशरण गर्न र अघि बढ्न आवश्यक छ । हामी माल्कोेटका जनताको विद्रोहलाई गौरवका साथ अभिवादन गर्दछौं । उक्त संघर्षमा बलिदान गर्ने युवा धनरुप बटालालाई नेपाली क्रान्तिका महान सहिद घोषणा गर्दछौं ।“ विप्लवले जनअधिकारका लागि भएको बलिदान कहिल्यै पनि खेर नगएको विज्ञप्तीमा उल्लेख गरेका छन्् । नेकपाले त्यसका विरुद्ध घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत जेठ २ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र ५ गते देशव्यापी शोकसभा आयोजना गर्ने बताएको छ ।

  यस्तो छ महासचिव विप्लवले जारी गरेको वक्तव्य 

 

प्रतिक्रिया
सम्बन्धित समाचार