पोखरा १७ असार २०८२।
म्याग्दीमा मान्छे मारेर भागेका एक युवा लुकिछिपी बसिरहेको अवस्थामा २० वर्षपछि पोखराबाट पक्राउ परेका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ४ स्थायी घर भएका ४० वर्षीय खिमबहादुर गर्बुजा लुकिछिपी बसिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरबाट पक्राउ परेका हुन्।
उनीसमेताका व्यक्तिहरुले बि.स २०६० सालमा म्याग्दीकी दग्नाममा एक व्यक्तिको हत्या गरेर भागेका थिए। उक्त हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका खिमबहादुर गर्बुजालाई म्याग्दी जिल्ला अदालतले २०६८ साल जेठ ११ गते दोषी ठहर गर्दै २० बर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
अदालतले २० बर्ष कैद सजाय तोके पनि फरार रहेका गर्बुजालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
निज गर्बुजालाई म्याग्दी जिल्ला अदालतको फैसला बमोजिम कैद भुक्तानका लागि बेनीस्थित म्याग्दी जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।