पोखरा १६ असार २०८२।
मोरङको विराटनगरमा प्रहरीको नाममा डकैती गरेको आरोपमा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समिर हुसेन र विराटनगर-६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।
उनीहरुले आफूहरु प्रहरी भएको भन्दै असार ११ गते बिहान ११ः १५ बजे विराटनगर-१५ का २० वर्षीय बिक्रमकुमार साह तेलीले बैंकमा जम्मा गर्न भनि लैजाँदै गरेको तीन लाख ६४ हजार रकम डकैती गरेको आरोप लगाइएको प्रहरीले जानकारी दिएको छ।
सिटी सफारीमा जाँदै गरेका तेलीलाई विराटनगर रानीस्थित राइस मिल छेउमा रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले आफूहरू मोरङ प्रहरीले खटिएको भन्दै जबरजस्ती स्कुटरमा राखेर विराटनगर-१४ स्थित एकान्त ठाउँमा पुर्याएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
डिएसपी चुडालका अनुसार, ती व्यक्तिहरूले साहलाई डरत्रास देखाई साथमा रहेको रकम लुटेर फरार भएका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटरसहित दुईजनालाई असार १५ गते पक्राउ गरेको जनाएको छ।
उनीहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद लिई शरिर बन्धक बनाई डकैती गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रनाउ चुडालले जानकारी दिइन्।