पोखरा १६ असार २०८२।
काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा काठमान्डौको बालाजुस्थित नयाँ बसपार्कमा फेला परेका छन्। आइतबार बिहान चोरी आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही पिसाब लागेको बहानामा जिल्ला अदालत काठमाडौँबाट भागेका थिए।
अदालतमा थुनछेकको बहसका लागि लगिएका अभियुक्त हतकडीसहित भागेपछि उनको खोजीमा प्रहरीले टोलीहरू परिचालन गरेको थियो। आइतबार साँझ उनी बालाजुमा रहेको नयाँ बसपार्क क्षेत्रमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले जानकारी दिएको छ।
उनी पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१ का हुन्। उनी काठमाडौंको गोङ्गबुमा बस्दै आएका थिए। चोरी अभियोगमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान सकाएर आइतबार थुनछेक बहसका लागि अदालतको चार नम्बर इजलासमा लगेको थियो। उनले पिसाब लागेको भन्दै इजलासबाट निस्किएर भागेका थिए।