पोखरा १३ असार २०८२।
हुम्लाकी एक युवती आफ्ना दुई छोरासहित भारतमा बेपत्ता भएकी छिन्। जिल्लाको अदानचुली गाउँपालिका–६ पाल्सकी २२ वर्षीया मङ्गली लोहार टमाटा आफ्ना दुई छोरासहित भारतको हिमाञ्चलबाट बेपत्ता भएकी हुन्। उनीसंगै सात वर्षका छोरा सौरभ र तीन वर्षका छोरा सुभाष पनि बेपत्ता छन्।
उनीहरु बिगत ६ दिनदेखि सम्पर्कमा नरहेका मंगलीका पति मेलेबहादुर लुहारले बताए। असार ८ गते आइतबार बिहान डेराबाटै पत्नी र छोराहरु बेपत्ता भएका भन्दै उनले खोजीको लागि स्थानीय प्रहरीलाई आग्रह गरेका छन्।
लुहारका अनुसार त्यसदिन मंगली दुई छोरालाई साथमै लिएर एकछिनको लागि भन्दै बाहिर गएकी थिइन्। त्ययता उनी फर्किएकी छैनन्।
बेपत्ताहरुको खोजीमा सहयोगको लागि नेपालमा रहेका मंगलीका देवर हर्कलाल लोहारले सबैमा अपिल गरेका छन्।