पोखरा ८ असार २०८२।
सुर्खेतमा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने नौ जना घाइते भएका छन्।
शनिबार राति पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ६ साल्मामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने नौ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार ट्याक्टरमा चालकसहित ११ जना सवार थिए। तीमध्ये तीन जना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको छ भने बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा भइरहेको छ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।