पोखरा,५ असार २०८२।
स्याङ्जाको वालिङमा आँधीखोला बचाउ अभियानका दुई जनालाई मरणासन्न हुने गरी कुटेको आरोपमा एक जना पक्राउ परेका छन् भने वडाध्यक्ष भने फरार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत रहेका आँधीखोला बचाउ अभियानका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा वालिङ नगरपालिका ८ का २९ वर्षीय साजन पंगेनीलाई सोही दिन राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए । उनलाई मिर्दीबाट नियन्त्रण लिई ज्यान मार्ने उद्योगमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
वडा प्रहरी कार्यालय वालिङमा वालिङ नगरपालिका १० का वडा अध्यक्ष सुनिल खनाल र अभियुक्त पंगेनीविरुद्ध मुद्दा दर्ता भएको छ । मंगलबार आँधीखोला बचाउ अभियानका अभियन्ता दिनकर नेपाल भनेर चिनिने दिनेश तिवारीलाई रड प्रहार गरी घाईते बनाएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।
वडाध्यक्ष खनाललाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए । एस्पी न्यौपानेले वडाध्यक्ष खनाल घटना पछि फरार रहेको बताउदै खोजी कार्यलाई तिब्र पारिएको बताए ।
सोही घटनाको कुटपिटमा संलग्न वडा नं. ८ का साजन पंगेनीलाई प्रहरीले पक्राउ गरी स्याङजा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा ७ दिनको म्याद थप गरी कानुनी कारबाही अगाडी बढाएको जनाएको छ । लुकिछिपी बसेको अवस्थामा मिर्दीबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मंगलबार नेपाली कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिका १० का अध्यक्ष खनालले आँधिखोला बचाउ अभियानको घोषणा गरी फर्केका तिवारीलाई फलामको रड प्रहार गरी घाईते बनाएका थिए । त्यसैगरी खनालले अर्का मेघ आलेलाई पनि कुटपीट गरी घाईते बनाएका थिए ।
पीडितले दिएको जानकारी अनुसार वालिङ नगरपालिका १० का वडाध्यक्ष सुनील खनाल र केहीले नेपाल र अर्का अभियन्ता मेघ आलेमाथि वडाध्यक्ष खनालले फलामको रडले आक्रमण गरेको आरोप लगाइएको छ । वडाध्यक्ष खनालले भने चरित्र हत्या र उत्तेजना फैलाएपछि सामान्य धकेलाधकेलमात्र भएको दाबी गरेका छन् ।
आँधीखोला बचाउँ अभियान अन्तर्गत वालिङ नगरपालिका ९ स्थित दरबारचोकमा आयोजित विरोध कार्यक्रम सकेर फर्कने क्रममा आफूहरूमाथि आक्रमण भएको पीडित दिनकर नेपालले बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष सुनील खनाल र अर्का एक व्यक्तिले बाटोमा रोकेर फलामको रडले प्रहार गरेको बताए।