मोबाइल व्यापारीबाट पांच लाख रुपियाँ असुली : तीन जना प्रहरीका घुमुवा , पत्रकार र सामाजिक अभियन्ता पक्राउ

मोबाइल व्यापारीबाट पांच लाख रुपियाँ असुली : तीन जना प्रहरीका घुमुवा , पत्रकार र सामाजिक अभियन्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० जेष्ठ २०८२
  • 9.2K
    Shares

पोखरा, ३० जेठ २०८२।

बाँकेमा सादा पोशाकमा खटाइएका प्रहरीहरू मोबाइल व्यवसायीसँग रकम असुलेको आरोपमा पक्राउ परेका छन् । अरु २ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेहरुमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिए। उनीहरुसंगै आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल पनि पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट लागुऔषधसहित मुद्दामा फसाइदिने धम्की दिएर प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरीले आफूसँग पांच लाख असुलेको भन्दै थ्रिस्टार मोबाइल पसलका सञ्चालकले उजुरी हालेका थिए ।

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालले समेत घुमुवासँग मिलेमतो गरेको पाइएको छ ।

यही जेठ २१ गते जानकी गाउँपालिका- ६ प्रिप्रहवाको एक खाजा पसलमा उनीहरूले पांचलाख नगद बुझेका थिए । पैसा बुझ्न उनीहरू भारतीय नम्बर प्लेटको यूपी ५० एए ९८८५ नम्बरको कार चढेर आएको ती व्यवसायीले बताए । उनीहरूले पैसा बुझेको भिडिओ सीसी टीभीमा कैद छ ।

डर, धम्की देखाई रकम असुलीमा तीनजना घुमुवा र थप २ जनालाई पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन् । आपराधिक लाभको कसुरमा उनीहरूमाथि हिजो अदालतबाट म्याद थप भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार