पोखरा, १५ जेठ २०८२।
तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।
उनलाई आजै जिल्ला अदालत पेस गरेर सात दिन म्याद थपी ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
जेठ ३ गते बेसीशहर–८ स्थित प्रगतिटोल तमु समूह भवनमा भएको तरुण दल लमजुङको ५औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको थियो ।
सो घट्नामा बेसीशहर नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी लगाएत घाइते भएका थिए ।
तरुण दल लमजुङमा पूर्णकालीन सदस्यबारे बिबाद रहेको थियो । उक्त घटनामा संलग्न अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
सो अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत, तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।