मकवानपुरमा बसले ठक्कर दिंदा दुई शिक्षकसहित तीन जना पैदलयात्रीको मृत्यु, तीन घाइते

मकवानपुरमा बसले ठक्कर दिंदा दुई शिक्षकसहित तीन जना पैदलयात्रीको मृत्यु, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ जेष्ठ २०८२
  • 8K
    Shares

पोखरा, १३ जेठ २०८२।

मकवानपुरमा ब्रेक फेल भएर अनियन्त्रित भएको बसले ठक्कर दिंदा पैदल हिडिरहेका दुई शिक्षकसहित तीनजना पैदलयात्रीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

बज्रवाराही गोपालीगाउँबाट ठानाबजार आउँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित भै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ स्थित सडकमा हिडिरहेका पैदल यात्रीहरुलाई ठक्कर दिंदा सोमबार साँझ झम्केश्वरी माविमा अध्यापनरत दुई शिक्षक सहित तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा परेर हिँडिरहेका पैदलयात्रुहरू झम्केश्वरी माविमा अध्यापनरत शिक्षकद्वय सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुर र सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादव तथा थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षीय कृष्ण बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

शिखरकोट मालपोत कार्यालयमा कार्यरत कमलेश कुमार साह दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का छेयाङ दोर्जे लामा (३२ वर्ष) र बारा कोल्बी नगरपालिका वडा नम्बर १ का रामगुलाम चौधरी (३० वर्ष) सामान्य घाइते भएका छन्। उनीहरूको उपचार पालुङको प्राथमिक स्वास्थ्य केन्द्रमै भइरहेको छ।

बस दुर्घटनापछि चालक थाहा नगरपालिका-५ निवासी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार