पोखरा, १२ जेठ २०८२।
बागलुङमा दुर्घटना गराएर भागेका ट्याक्टर चालक १० वर्ष पछि उदयपुरबाट पक्राउ परेका छन्।
२०७२ सालको बैशाख २४ गते बागलुङ जिल्लाको साबिक दुधिलाभाटी गा.बि.स वडा नं. १ चौराह हाल गल्कोट नगरपालिका वडा नं १ स्थित बागलुङ बुर्तिवाङ सडकखण्डमा ध १ त २१९ नं को ट्याक्टर दुर्घटना गराएर भागेका चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने हाल वर्ष ३९ का सुरेश कुमार माझी उदयपुरबाट पक्राउ परेका हुन्।
बागलुङको खरवाङबाट अक्षतेतर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा घाइते भएका सुर्खेत शाटाखानी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १७ का राम बहादुर सार्कीको उपचारको क्रममा सोही दिन मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ बाट पक्राउ गरेर बागलुङ ल्याई बागलुङ जिल्ला अदालत, बागलुङबाट सवारी ज्यान कसूरमा पांच दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।