पोखरा, ६ जेठ २०८२।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी मोबाइल स्विच अफ गरेर भागेका छन्।
बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउपुर्जी जारी भए पछि अध्यक्ष चौधरी मोबाइल स्विच अफ गरेर भागेका हुन्।
लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित चौधरीबिरुद्ध रुपन्देही जिल्ला अदालतले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी गरेको प्राप्त समाचारमा जनाइएको छ।
अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको हो । अदालतको आदेश बमोजिम पत्र पाएपछि इलाका प्रहरी कार्यालय बुटवलले त्यस बारेव्मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई जानकारी गराएको प्राप्त समाचारमा जनाइएको छ। अदालतले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाए पछि पालिका अध्यक्ष चौधरी आफ्नो मोबाइल स्विच अफ गरेर सम्पर्कबिहीन रहेको प्राप्त समाचारमा जनाइएको छ। चौधरीको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले तीन दिनदेखि कार्यालयमा पनि अध्यक्ष नआएको र कार्यवाहक पनि नदिएको बताए ।
गएको वैशाख ५ गते चौधरीले मध्यरातमा गोली प्रहार भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको भनिए पनि त्यसको वास्तविकता अहिलेसम्म खुलेको छैन ।
राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले प्रहरीलाई जानकारी दिएका थिए ।