पोखरा, ६ जेठ २०८२।
कोशी प्रदेशका एक मन्त्री सवार गाडीलाई ठक्कर दिएको भन्दै प्रहरीले एक जना सिटि सफारीका चालकलाई पक्राउ गरेको छ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई ठक्कर दिएको भन्दै प्रहरीले प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सीटी सफारीका चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई पक्राउ गरेको हो।
प्रदेश मन्त्री हाङगाम सवार उक्त गाडी विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७ः३० बजेतिर ‘ट्राफिक रेड लाइट’मा रोकीराखेको अवस्थामा दाहालले चलाएको सिटि सफारीले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बरगाछीबाट असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ । सफारी चालकको लापरबाहीले दुर्घटना भएको र थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए ।