पुलमुनि पिसाब फेर्दा गाली गरेको भन्दै काठमाण्डौमा मजदुरको हत्या

पुलमुनि पिसाब फेर्दा गाली गरेको भन्दै काठमाण्डौमा मजदुरको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ बैशाख २०८२
  • 7.3K
    Shares

काठमान्डौमा पुलमुनि बस्दै आएका एक जना मजदुरको हत्या भएको छ। काठमाडौँ महानगरपालिका-२०, स्थित परोपकार पुलमुनि बसोबास गरेर साइकलमा भारी बोक्ने काम गर्दै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० घर भएका माइला भनिने बिक्रम तामाङको छुरा हानेर हत्या गरिएको हो।

तामाङलाई हत्या गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक ७ घर भई हाल काठमाण्डौको डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।

प्राप्त विवरण अनुसार , हत्या आरोपमा पक्राउ परेका श्रेष्ठ जिम गर्न त्यही बाटो हिँड्थे। घटनाको केही दिनअघि पुलमुनि पिसाब फेर्दा तामाङले उनलाई हप्काएका थिए। त्यही दिनदेखि उनलाई तामाङसँग रिस उठिरहेको थियो।

साइकलमा सामान ओसार्ने तामाङ भने त्यही पुलमुनि बास बस्थे। घटनाका दिन गएको बैशाख ६ गते बिहान साढे ११ बजे श्रेष्ठ जिमबाट फर्कंदा तामाङ निदाइरहेका थिए। अनि आफ्नो पूर्वयोजनाअनुसार तामाङलाई चक्कु हानेको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन्। त्यस क्रममा श्रेष्ठको हातमा पनि चोट लागेको छ। नजिकै रहेको मेडिकलमा पट्टी बाँधेर श्रेष्ठ पैसा नतिरी भागेका थिए। तर प्रहरीले सीसीटीभी फुटेजका आधारमा पत्ता लगाई उनलाई पक्राउ गरेको थियो।

प्राविधिक अनुसन्धानको क्रममा घटनामा संलग्न श्रेष्ठलाई पक्राउ गरिएको जनसेवा वृत्तका डिएसपी कृष्ण चन्दले बताए। घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स र चक्कु समेत प्रहरीले बरामद गरेको छ।। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जनसेवा वृत्तले आरोपीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाई सकेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार