टिकटक बनाउने बहानामा रौतहटमा १४ वर्षीय बालकको गोली हानी हत्या : चार जना पक्राउ

टिकटक बनाउने बहानामा रौतहटमा १४ वर्षीय बालकको गोली हानी हत्या : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ बैशाख २०८२
  • 7.5K
    Shares

पोखरा, १४ बैशाख २०८२।

टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या भएको छ ।

रौतहटको वृन्दावन नगरपालिका-७ का १४ वर्षीय बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने बहानामा बोलाएर गोली हानी हत्या गरिएको हो ।

प्रहरीका अनुसार , टिकटक बनाउने भन्दै २५ वर्षीय नागेन्द्र सहनीले बालक कृष्णप्रसाद यादवलाई शुक्रबार मोबाइलमा फोन गरेर बोलाएका थिए । दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका-८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि ती बालकलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए । त्यस पछि टिकटक बनाउने बहानामा कृष्णलाई छातीमा दुई राउन्ड गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

दुवै परिवारबीच पुरानो रिसिइबी रहेको र सोही रिसिइबीकाकारण रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

एसपी घिमिरेका अनुसार , केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका थिए । प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’

हत्यापश्चात् दुवैजनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका-५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका-४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताए ।

मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्‍याएका थिए । घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार