पोखरा, ८ बैशाख २०८२।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग गठन गरेको हो।
उक्त आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य समेत कुल १५ सदस्यीय रहने प्राप्त समाचारमा जनाइएको छ। त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने बताइएको छ।
यसैबीच सरकारले गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबारे छानबिन शुरु गरेको छ।
तीनकुने प्रकरणमा प्रहरीको कमजोरीलाई लिएर प्रश्न उठिरहेका बेला उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वमा बनाएको सात सदस्यीय समितिले तीनकुने घटनाबारे छानबिन गरिरहेको हो ।
१५ चैतमा दुर्गा प्रसाईं जनकमान्डर तोकिएको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु र गोली लागेर २० जना घाइते भएका थिए । निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड समेत भएको थियो ।