पोखरा, ८ बैशाख २०८२।
काठमाडौँको शङ्खरापुरमा गएराती आफ्नी श्रीमतीको हत्या गरेर श्रीमान् भागेका छन्।
सिन्धुली स्थायी घर भई हाल शङ्खरापुर नगरपालिका–९, सानागाउँमा बस्दै आएकी ३५ वर्षीया पुतली तामाङको गएराति करिब ९:३० बजे खुकुरीले हानेर हत्या गरेर उनका श्रीमान् भागेका हुन्।
श्रीमतीको हत्यापश्चात उनको ५८ वर्षीय श्रीमान रामेछापको खाँडादेवी गाउँपालिका–७ निवासी पदमबहादुर तामाङ बेपत्ता छन्। उनीहरका ११ वर्षीय छोरा र १० वर्षीया छोरी समेत घाइते अवस्थामा फेला परेका छन्। उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
मृतक पुतली तामाङको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। हाल फरार रहेका पदमबहादुरको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।