पोखरा,५ बैशाख २०८२।
मकवानपुरमा गएराती बिद्युतीय माइक्रोबस दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको बिद्युतीय माइक्रोबस गएराती एक बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो। उक्त बस झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको र सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइते र उनीहरूकाे अवस्था
दुर्घटनामा रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ बस्ने ५५ वर्षका राम प्रकाश राउत (शरीरका बिभिन्न भागमा चोट, अवस्था मध्यम), सर्लाहीकाे बरहथहवा नगरपालिका–८ बस्ने वर्ष ५२ का शिवशंकर राय (टाउको र दुवै खुट्टामा चोट अवस्था मध्यम), उनकी श्रीमती वर्ष ४५ की रिकिदेवी राय (शरीरका विभिन्न भागमा चोट अबस्था मध्यम) र सर्लाहीकाे बरहथवा नगरपालिका–९ बस्ने वर्ष २७ का मनोज राय (शरीरका विभिन्न भागमा चोट अवस्था मध्यम) रहेका छन्। उनीहरु सबैको हेटौँडा अस्प्तालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
यस्तै सर्लाही हरिहरपुर नगरपालिका–१ बस्ने वर्ष २७ को नवराज मगर (बाँया हात र खुट्टामा भित्री चोट अबस्था मध्यम), सोही स्थानका वर्ष १६ की प्रियंका मगर (शरीरका भित्री भागमा चोट अवस्था मध्यम), १५ वर्षको सृजन मगर (शरीरका भित्री भागमा चोट अवस्था मध्यम), ४० वर्षकी जमुना मगर (टाउकोमा चोट अवस्था मध्यम), वर्ष १९ को सुदिप रिसाल (शरीरका् भित्री भागमा चोट अवस्था सामान्य), सर्लाहीको विष्णुपुर गाउँपालिका–३ मधुवनगोठ बस्ने वर्ष २७ का देवराज कुमार साह (शरीरका भित्री भागमा चोट अवस्था सामान्य) र सोही स्थानकी ४२ वर्षीया किसुनव्रर्ती साह (शरीरका विभिन्न भागमा भित्री चोट, अवस्था मध्यम) रहेका छन्।
यस्तै अन्य घाइते हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर ((शरीरका भित्री भागमा चोट, अवस्था मध्यम) र महोत्तरी गौशाला गाउँपालिका–५ बस्ने १६ बर्षको आदित्य छोरचंगी मगर (शरिरको भित्री भागमा चोट अवस्था मध्यम) रहेका छन्।
उनीहरूको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतारमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
गाडी चालक सर्लाहीको बागमती गाउँपालिका–५ बस्ने २९ वर्षका कमल बहादुर दर्लामी पनि सामान्य घाइते भएका प्रहरीको भनाइ छ। घाइते चालक दर्लामीको प्रहरीको नियन्त्रणमा हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।