पोखरा,५ बैशाख २०८२।
‘डिभोर्स’ गर्न नमानेपछि धरानमा एक व्यक्तिले आफन्त लगाएर आफ्नी श्रीमतीको हत्या गरेको खुलेको छ।
एक साताअघि धरानको पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या सम्बन्धमा अनुसन्धान गरेको प्रहरीले त्यस्तो रहस्य भेट्टाएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहिबार एक पत्रकार सम्मेलन गरी चुनकुमारीको हत्या आरोपमा पक्राउ परेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीसहित छ जनालाई सार्वजनिक गरेको छ ।
हत्या योजनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य व्यक्तिहरूमा प्रेमबहादुरका २९ वर्षीय भाइ ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी २५ वर्षीया श्रीमती सृष्टि बुढाथोकी, ३६ वर्षीय कान्छा ज्वाइँ योगेन्द्र गौतम, योगेन्द्रकी २८ वर्षीय श्रीमती डेनु गौतम र ४० वर्षका केशवराज दाहाललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई चैत २९ गते घरबाटै, भने योगेन्द्रलाई चैत ३० गते काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या भएपछि परिवार तहसनहस भएको देखेर नेपाल फर्किएका प्रेमबहादुर काठमाण्डौबाट पक्राउ परेका एसपी तिम्सिनाले जानकारी दिए। प्रेमबहादुर गत मंसिर २७ गते नेपाल आएर माघ ५ गते कोरिया फर्किएका थिए।
घटनामा संलग्न भारतीय नागरिक ३५ वर्षीय राजु थापा मगर भने फरार छन्। उनी सृष्टि बुढाथोकीका फुपूका छोरा रहेको खुलेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका प्रेमबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) माग्दा अस्वीकार गरेपछि आफन्तलाई प्रयोग गरी हत्या गराएको देखिएको प्रहरीले बताएको छ।
चुनकुमारीको शव चैत २५ गते धरान उपमहानगरपालिका–६ को पाँचकन्या सामुदायिक वनमा फेला परेको थियो। रुखको फेदमा फित्ता बेरिएको अवस्थामा शव भेटिएको थियो, जसबाट उनको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।
हत्या भएको तीन दिनपछि, चैत २८ गते मृतकका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरेका थिए। साथै, मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरीसमेत दिएका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार प्रेमबहादुरले श्रीमतीलाई शंका गर्ने र पन्छाउने उपायको खोजीमा आफन्तलाई संलग्न गराएर हत्या गराएको खुलेको हो।