पोखरा, ३० चैत २०८१।
नागरिकता किर्ते मुद्दामा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय लमजुङका सुब्बासहित दुई जना धरौटीमा छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय लमजुङको राहदानी शाखामा कार्यरत सुब्बा चितवन घर भएका २७ बर्षीय अशोक भण्डारी र बेसीशहर नगरपालिका–४ घर भएकी ३४ बर्षीय सविता गुरुङ बिहिबार धरौटीमा छुटेका हुन्।
प्राप्त जानकारी अनुसार , जिल्ला प्रशासन कार्यालयबाट नागरिकता नं. ४५१०२६–१३८७७ रहेको ती युवतीको गत फागुन २२ गते राती सीसीटीभि समेत बन्द गरी किर्ते नागरिकता बनाइएको थियो र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले चैत दोस्रो साता पक्राउ गरेको थियो ।
नागरिकता किर्ते सम्बन्धमा पक्राउ परेका दुवै जनाविरुद्ध आबश्यक अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय लमजुङले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा कारबाहीका लागि पेश गरेको थियो।
उक्त मुद्दामा जिल्ला न्यायाधिश कृष्णप्रसाद पौडेलको चैत २८ गतेको इजलासले अभियुक्तद्वय भण्डारी र गुरुङसँग जनही क्रमशः एकलाख ७० हजार रुपैयाँ धरौटी रकम माग भएकोमा दुवै जना माग बमोजिमको धरौटी राखेर हिरासतमुक्त भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।