पोखरा, २९ चैत २०८१।
लमजुङमा बिहिबार साँझ भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेका २६ वर्षीय टेकप्रसाद गुरुङ भालुको आक्रमणबाट घाइते भएका हुन्।
गुरुङलाई भोजे सामुदायिक जंगलमा साथीहरुसँग कुरिलो टिप्न जाँदा भालुले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बेशिशहर पठाईएकोमा थप उपचारको लागि पोखरास्थित साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए । घाइते गुरुङको अनुहार र शरीरमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।
भालुले आफूमाथि आक्रमण गरेपछि हारगुहार गरेको र त्यस लगत्तै उनका दुई जना साथीहरु त्यहाँ पुगेपछि भालुले आक्रमण गर्न छाडेर भागेको प्राप्त समाचारमा जनाइएको छ।