पटक – पटक फेवाताल पुरेको आरोप लागेका ब्यबसायी खतिवडाले आफ्नै ब्यबसायिक भवनमा प्रहरी विट बनाइदिए

पटक – पटक फेवाताल पुरेको आरोप लागेका ब्यबसायी खतिवडाले आफ्नै ब्यबसायिक भवनमा प्रहरी विट बनाइदिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 11.2K
    Shares

पोखरा, ८ फागुन २०८१।

पटक-पटक फेवाताल पुरेको आरोप लगाउंदै प्रहरीले पक्राउ गरेर कारबाही गरिएका ब्यबसायी युवराज खतिवडाले पोखरा १८ सेदीस्थित आफ्नै वाई.यु.के.सुपर मार्केटको प्राङ्गणमा सिसिटिभीसहितको प्रहरी बिट बनाइदिएका छन्।

बिना अनुमति बनाइएको वाई.यु.के.सुपर मार्केटको प्राङ्गणमा निर्मित उक्त प्रहरी बिटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे ।

उक्त प्रहरी बिट निर्माणका लागि करीब १६ लाख रुपियाँ खर्च भएको र कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेको ब्यबसायी खतिवडाले जानकारी दिए। त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरापनि जडान गरिएका छन् । प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले सेदीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी विट बनेपछि सजिलो हुने बताए ।

पोखरा सेदीका अर्का ब्यबसायी रामकुमार राईले प्रहरी नागरिकको साथी बन्न नसकेको गुनासो गरे। प्रहरीले लेकसाईडका व्यवसायी र सेदीका व्यवसायीमाथि फरक व्यवहार गरिरहेको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे ।

लेकसाईडमा मापसे चेकिङ नगर्ने तर सेदीमा दैनिक चेकिङ गरेर आतंकित पारेको भन्दै उनले भने,‘प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने हो । तर हामी सेदीका व्यवसायीमाथि विभेद गरिएको छ । ‘प्रहरी मेरो साथी’ भन्नुहुन्छ । तर व्यवहार त्यस्तो छैन । त्यसैले हामी उहाँहरुलाई व्यवहार सच्याउन आग्रह गर्छौं । हामी चाहन्छौं ‘प्रहरी मेरो दुस्मन भन्ने दिन नआओस् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार