पोखरा , २१ माघ २०८१ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा यही फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ ।
ऐतिहासिक एबम धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको पर्यटकीय क्षेत्र सराङकोटलाई धामका रूपमा विकास गर्न सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव गर्न लगिएको हो।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अंग्रेजी वर्ष २०२५ लाई पोखरा पर्यटन वर्ष गोशाना गरिएको जानकारी दिंदै यसै सन्दर्भमा धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्यले त्यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको बताए ।
भागवत गुरु एबम महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्नुका साथै भगवान महादेवप्रति भक्ति भाव व्यक्त गर्ने एउटा अनुपम अवसर प्रदान गर्ने बिश्वास ब्यक्त गरे । उनले भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने बताए ।




