पोखरा , २१ माघ २०८१ ।
पोखरामा प्रहरीले बेला – बेलामा मिडियालाई प्रमुखता दिएर प्रचारात्मक अभियान चलाउने गर्छ। तर ती अभियानले निरन्तरता नपाउँदा पोखराको यातायात क्षेत्रमा प्रहरीले बेला – बेलामा मिडियालाई प्रमुखता दिएर प्रचारात्मक अभियान चलाउन बाध्य हुन्छ।
पोखरामा प्रहरीले बेला – बेलामा प्रचारात्मक रुपमा चलाउने भनेको अभियान हो. चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिड्ने स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियान।
ठिक १० महिना अघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले त्यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा जिल्लाभरका प्रहरी युनिटहरुलाई परिचालन गरेर चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिड्ने स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियान चलाएको थियो।
२०८० साल फागुन २० गते जिल्ला प्रहरी कार्यालय कास्कीले एक पत्रकार सम्मेलन गरेर ‘हो-हल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनि प्रदुषण गर्ने कार्य बढी गरेको भन्दै स्वरुप परिवर्तन गरिएका ५९ वटा मोटरसाईकलहरुलाई कारबाही गरेको थियो। त्यति बेलाका कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले वर्कशपबाट मिस्त्री नै जिल्ला प्रहरी कार्यालयमा बोलाएर चर्को आवाज निकाल्ने यन्त्र झिक्न लगाएका थिए।
अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपी राजेन्द्र बाबु ओलिया प्रहरी प्रमुख रहेका छन्। उनले पनि तात्कालिन एसपी मोहन कुमार थापाले जस्तै एक हप्ता लामो चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिड्ने स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियान। चलाइएको जानकारी दिएका छन्।
एसपी थापाले पत्रकार सम्मेलन गरेर आफ्नो निर्देशनमा भएको अभियानको उपलब्धी बारे जानकारी दिएका थिए। तर अहिलेका कास्की प्रहरी प्रमुख एसपी ओलियाले पत्रकारहरुलाई इमेल पठाएर तथा सामाजिक संजाल फेसबुकमार्फत उक्त अभियानका क्रममा जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार साँझ पत्रकारहरुलाई पठाएकोमा “मिति २०८१।१०।१४ गतेदेखी ऐ.२० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा समाजमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा सवारी साधनहरु (मोटरसाइकल) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको ।” जानकारी दिइएको छ।
साथै कास्की प्रहरीले सोही इमेलमार्फत “कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध पनि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा आउने नयाँ प्रहरी प्रमुखले हरेक वर्ष चलाउने चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिड्ने स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियान एसपी ओलियाको कार्यकालको लागि सकिएको हो कि यस अभियानले निरन्तरता पाउने हो ? त्यो भने प्रतिक्षाको बिषय रहेको छ।
बिगतका कास्की प्रहरीको नेतृत्वभन्दा अहिलेको कास्की प्रहरीको नेतृत्व मिडियाप्रति उदार हुन नसकेको अनुभव पोखराका पत्रकारहरुले गरिरहेका छन्। कास्की प्रहरीले आफुले गरेका गतिबिधिका बारेमा जानकारी दिनका लागि नियमित पत्रकार सम्मेलन समेत गर्न सकिरहेको छैन। बिगतका समयमा महिनाको एक पटक पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधिहरुका बारे सार्वजनिक जानकारी दिने कार्य अहिलेको कास्की प्रहरीको नेतृत्वले गर्न नसकेको पोखराका पत्रकारहरुको गुनासो रहेको छ।