पोखरा , १८ माघ २०८१।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
दमौलीबाट मुग्लिनतर्फ जादै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको बस सत्रसयमा आज दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन ।
सोही दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल, लमजुङको बेसीशहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुवंर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वषीृय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ ।
उक्त बस चालकले नियन्त्रण गुमाई सडक छेउको कल्भर्टमा पल्टिँदा दुर्घटनाग्रस्त भएको र बसचालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई पक्राउ गरी आबश्यक अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।