पोखरा, १३ माघ २०८१ ।
जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा ७५ वर्षीय कृषि वैज्ञानिक मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । राई सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ स्थित फाउण्डेसनका संस्थापक हुन्।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि माघ २५ गते अर्को पेशी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।