आफ्नै पार्टीका कंग्रेसम्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कंग्रेसमा प्रस्तावित हेल्थकेयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई, ट्रम्प प्रशासनकै ठूलो असफताको रुपमा विश्लेषण गरिएको छ ।
सातवर्षदेखि अमेरिकीअनुदारवादी राजनीतिको सबैभन्दा ठूलो टाउको दुखाईको विषय बनेको ओबामा हेल्थ केयरलाई निस्तेज पार्न केही साताअघि ट्रम्प प्रशासनले नयाँ हेल्थ केयर विधेयक कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा दर्ता गरेको थियो । निर्धारित समय अनुसार बिहीबारको मतदान, रिपब्लिकन पार्टीको आन्तरिक संर्घषका कारण स्थगित गरिएको थियो । पुन: शुक्रबार मतदान तय भएपनि, असहयोग हुने भएपछि ट्रम्पको निर्देशनमा हाउस सभामुख पल रायनले विधेयक फिर्ता लिएका थिए ।
आफ्नै पार्टीका विधायकहरुका कारण असफल भएपनि ट्रम्पले त्यसको दोष भने विपक्षी डेमोक्र्याटिक पार्टी माथि लगाए भने सभामुख रायनले विधेयक फिर्तालाई दु:खद दिनको रुपमा टिप्पणी गरेका छन् । गत निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनले ट्विट गर्दै अमेरिकी जनताको जितको भएको चित्रण गरेकी छिन् ।
संघीय सरकारको प्रभावी भूमिका रहेको र अहिलेसम्मकै सबैभन्दा ठूलो ‘वेलफेयर’ स्वास्थ्य कार्यक्रम, ओबामा केयरलाई उल्टयाउने वर्षौदेखि रिपब्लिकन पार्टीको योजना मात्र नभएर,गत राष्ट्रपति निर्वाचनमा समेत ट्रम्पको एक नम्बरको एजेण्डा थियो ।
घरेलु राजनीतिको सबैभन्दा विवादास्पद कानुनलाई उल्टाउने अभियानमाआफ्नै पार्टीका कंग्रेसम्यानहरुबाट साथ नपाएपछि, वर्षौंदेखिको रिपब्लिकन पार्टीको सपना अहिलेलाई तुहिएको छ ।
अर्कोतर्फ, फेरि एकपटक अनुदारवादी पार्टीको आन्तरिक संर्घष छताछुल्ल भएको छ । जसले, कंग्रेसमा स्पष्ट बहुमतका बाबजुत भविष्यमा ट्रम्पकाआगामी महत्वाकांक्षी योजनालाई अप्ठारो पार्ने आँकलन गरिँदैछ ।
कुल चार सय ३५ सदस्य संख्या रहेको तल्लो सदनमा दुई सय ३७ रिपब्लिकन विधायक रहेपछि,अति अनुदारवादी तीन दर्जन कंग्रेसम्यानहरुका कारण, संस्थापन रिपब्लिकन पक्ष संकटमा परेको हो ।
सुरक्षित निर्वाचन क्षेत्रबाट निर्वाचित अति अनुदारवादी कंग्रेसम्यानहरुको समूह ‘फ्रिडम ककस’ले संघीय बिमा नीति अनुरुप अनिवार्य प्रावधानमा रहेका आकस्मिक सेवा, महिला एवं प्रजनन स्वास्थ्य सुविधा, मानसिक स्वास्थ्यलगायत सेवाको व्यवस्थालाई पूर्णत खारेज गनुपर्ने माग राख्दै आएको थियो । जसमा मुख्य विमति थियो ।
मूलधारको रिपब्लिकन नेतृत्वबाट नरुचाइएको यो समूह, सन २००९ मा उदय भएको ‘टी पार्टी मुभमेन्ट’ बाट अभिप्रेरित छ । यसअघि पनि बजेट नीतिमा आफ्नै पार्टीको यो समूहसँगको टकराव पछि रिपब्लिकन नियन्त्रित हाउसका तत्कालीन सभामुख जोन बोयनरले सन २०१५ मा राजीनामा दिएका थिए ।
रिपब्लिकन पार्टीले ओबामा केयरले अमेरिकी जनताको स्वतन्त्रता खासेको, रोजगार नष्ट गरेको आरोप लगाउदैं आएका छन भने डेमोक्र्याटिक पार्टीले अमेरिकी इतिहासमै यो सर्वसुलभ स्वास्थ्य सेवा रहेको दाबी गर्दै आएका छन् । दशकौंदेखि सातजना डेमोक्रयाट् एवं रिपब्लिकन राष्ट्रपतिले हेल्थकेयरलाई परिमार्जन गर्न असफल भएपनि, ओबामाको विधेयक कंग्रेसको दुवै सदनबाट पास भएपछि, सन २०१० मा कानुन बनेको थियो ।
महत्वपूर्ण विधेयकको असफलतापछि अब ट्रम्प प्रशासनले कर नीतिलाई अगाडि सार्ने तयारी गर्ने भएको छ ।