लण्डनमा आतंकवादी आक्रमण : चार जनाको मृत्यु, २० जना घाईते

लण्डनमा आतंकवादी आक्रमण : चार जनाको मृत्यु, २० जना घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ चैत्र २०७३
  • 16.2K
    Shares

ब्रिटेनको संसद् भबनबाहिर भएको आतंकवादी हमलामा परी चार जनाको मृत्यु भएको छ भने कम्तिमा बीसजना मानिसहरु घाइते भएका छन् l वेस्टमिनस्टर पुलमा घाइते हुनेहरुमध्ये तीनजना प्रहरी पनि रहेको बताइएको छ। घाइते हुनेहरुमध्ये फ्रान्सका तीनजना स्कुले विद्यार्थीहरु पनि भएको जनाइएको छ।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए। जानीजानी पदयात्रीमाथि कार गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताए। आक्रमणमा कैयौं पदयात्रीहरुलाई किचेपछि सो कार नजिकैको रेलिङमा गएर ठोकिएको थियो।

पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद भवनको सुरक्षा गरिरहेका प्रहरीमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए।लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। आक्रमणकारी तथा घाइते प्रहरी दुबैको ज्यान गएको विवरणहरुमा जनाइएको छ।सेन्ट टमस अस्पतालका एक डाक्टरले कैयौं घाइतेको अवस्था गम्भीर रहेको बताए।

लण्डनको मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपकमिश्नर मार्क राउलीले लण्डनभरि नै थप प्रहरी तैनाथ गरिएको र पूर्णकालिन आतंकवाद विरोधी छानबीन शुरु गरिएको बताए।

प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई “हालका लागि आतंकवादी हमला” को रुपमा लिइएको बताएको छ। सो घटना लगत्तै ब्रिटिश संसदको कारवाही स्थगित गरिएको थियो। सांसदहरुले तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताएका थिए।

प्रधानमन्त्री टरिजा मे सुरक्षित रहेको डाउनीङ स्ट्रीटले जनाएको छ। गोली चलेको आवाज सुनिए लगत्तै ब्रिटिश प्रधानमन्त्री टरीजा मेलाई सुरक्षित स्थानतर्फ लगिएको थियो। उनले सो हमलाको निन्दा गर्दै हताहति हुनेहरुप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकी छन्। उनले मन्त्रीहरुसहितको एउटा संकटकालिन बैठक पनि गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार