ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक

ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ चैत्र २०७३
  • 12.8K
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाउने आदेशलाई संघीय न्यायाधीशले रोकिदिएका छन्। ६ देशका यात्रुमाथि प्रतिबन्ध लगाउने आदेश कार्यान्वयनमा आउनुभन्दा केही घण्टा अगाडि हवाई राज्यका न्यायाधीशले रोक्ने फैसला दिएका हुन्।

राष्ट्रपतिको पदभार ग्रहण गरे लगत्तै ट्रम्पले सातवटा मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशलाई न्यायालयहरुले अस्वीकार गरिदिएपछि उनले ६ देशलाई समेटेर अर्को आदेश जारी गरेका थिए।

राष्ट्रपतिको आदेश लागू हुन पाएको भए त्यसले खासगरी ६ वटा मुसलमान बहुल देशका नागरिक तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लाग्ने थियो।तर हवाई राज्यका सरकारी वकिलहरुले उक्त आदेशले अमेरिकी मुसलमान तथा मुसलमान आप्रवासीमाथि भेदभाव गराउने भन्दै त्यस विरुद्ध मुद्दा हालेका थिए। त्यसै सन्दर्भमा न्यायाधीशले सो नयाँ आदेश पनि रोक्ने फैसला गरेका हुन्।

ती न्यायाधीशले उक्त आदेश राष्ट्रिय सुरक्षाको सवालसंग जोडिएको भन्ने जिकिरलाई समर्थन गर्ने ठोस प्रमाण नभएको जनाए।

हवाई लगायत केही अन्य राज्यले अमेरिकी संघीय सरकारको उक्त प्रतिबन्ध विरुद्ध कानुनी उपचार खोजिरहेका छन्।राष्ट्रपति ट्रम्प उक्त फैसला न्यायापालिकाको अभूतपूर्व हस्तक्षेप भन्दै त्यसलाई सर्वोच्च अदालतमा चुनौति दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले आतंकवादीलाई अमेरिका छिर्नबाट रोक्ने बताएका छन् भने आलोचकहरुले त्यो भेदभावपूर्ण भएको बताएका छन्। उनको पछिल्लो आदेशमा समेटिएका ६ देशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान तथा यमन पर्दछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार