सात मुस्लिम बाहुल्य राष्ट्रमाथि यात्रा प्रतिवन्ध लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब थुपै्र मध्यपूर्वी र अफ्रिकी राष्ट्रहरुतर्फ निशाना सोझ्याएका छन् । उनले यात्रा प्रतिवन्ध लगाउने गरी सोमबारसम्म परिमार्जित कार्यकारी आदेश जारी गर्ने अनुमान गरिएको छ । परिमार्जित कार्यकारी आदेशमा अरु के कुरा परिवर्तन हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
एसोसिएटेड प्रेस -एपी)ले गत हप्ता आईएसविरुद्धको कारवाहीमा अमेरिकालाई दरिलो साथ दिएकाले यात्रा प्रतिवन्धित सात मुलुकको सूचीबाट इराकलाई झिक्ने तयारी भइरहेको खबर प्रकाशित गरेको थियो । अन्य मुस्लिम बाहुल्य राष्ट्रहरु इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनमाथिको प्रतिवन्ध भने यथावत रहनेछ, जसको म्याद ९० दिन रहेको छ ।
अमेरिका र विश्वभर विवादित बनेको ट्रम्पको पहिलो कार्यकारी आदेश आएको एक महिनापछि परिमार्जित आदेश आउन लागेको हो ।गत मंगलबार ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रमा गरेको सम्वोधनले अत्याधिक प्रशंसा पाएपछि उनी परिमार्जित आदेश जारी गर्न हौसिएको समाचारमा जनाइएको छ ।