चीनले सैन्य खर्च ७ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्च बृद्धि गर्ने घोषणा गरेलगत्तै महाशक्तिको दाबेदार चीनले यस्तो घोषणा गरेको हो । चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने सम्मेलनको पूर्वसन्ध्यामा यस्तो घोषणा सार्वजनिक गरेको हो ।
आर्थिक बृद्धिसँगै चीनले पछिल्ला वर्ष आफ्नो सेनालाई आधुनिकीकरण गरिरहेको छ ।
तथ्यांक अनुसार चीनको सैन्य खर्च अमेरिकाको भन्दा थोरै छ तर चीनमा चासो राख्नेहरु भन्छन्, बेइजिङको सैन्य खर्च सार्वजनिक गरिएभन्दा बढी हुनसक्छ ।
यो वर्षको तथ्यांकअनुसार चीनले कूल ग्राहस्थ उत्पादनको १ दशमलब ३ प्रतिशत सेनामा खर्च गर्छ ।
चीनको सैन्य खर्च कंग्रेस सम्मेलनमा प्रधानमन्त्री ली केसिङले सार्वजनिक गर्नेछन् । अघिल्लो साता अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ को बजेटमा रक्षा बजेट १० प्रतिशतले बृद्धि गर्ने घोषणा गरेका थिए ।
पछिल्लो समय चीन र अमेरिकाबीच साउथ चाइना सीको बिषयमा विवाद उत्कर्षमा छ । गत वर्ष चिनियाँ सैनिकले साउथ चाइना सीमा पुगेको अमेरिकी ड्रोन नियन्त्रणमा लिएको थियो ।