मेयर जिसी नेतृत्वको पोखरा महानगरका अपुरा र अधुरा अति महत्वपूर्ण आयोजनाहरु, हुँदा हुँदा बजेट नै रकमान्तर

मेयर जिसी नेतृत्वको पोखरा महानगरका अपुरा र अधुरा अति महत्वपूर्ण आयोजनाहरु, हुँदा हुँदा बजेट नै रकमान्तर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ बैशाख २०७९
  • 5K
    Shares

पोखरा महानगर

आफ्नो कार्यभार सम्हाल्दा पोखरा महानगरपालिकाका प्रथम मेयर मानबहादुर जिसीले आजभन्दा चार वर्ष अघि ‘अबको एक हप्ताभित्र बिजुलीको पोलमा टाँगिएका ताराहरु हटाउछु” भनेर पत्रकारहरुका अगाडी कसम खाएका थिए। उनले पोखरा महानगरभित्रका पोलमा टांगिएका तारहरु हटाउन त सकेनन नै, चार वर्ष हुँदा पनि आफ्नै कार्यालय अगाडी रहेको बिजुलीको पोलका तारका गुजुल्टातिर उनको ध्यान सम्म गएन।

मेयर मान बहादुर जिसीले आफ्नो कार्यकालमा पोखरामा अन्तरराष्ट्रिय बिमानस्थल, अन्तर्राष्ट्रिय स्तरकै टर्मिनल बसपार्क र ल्याण्डफिल्ड साइट बनाइ छाड्ने प्रतिबद्धता आफ्नो घोषणापत्रमा गरेका थिए। घोषणापत्रमा भनिए जस्तै पोखरामा अन्तरराष्ट्रिय स्तरको बिमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ। तर त्यस बिमानस्थल संचालन गर्न अति आबश्यक ठानिएको ल्यान्डफिल्ड साइट र बसपार्क निर्माणको काम शुरुसम्म हुन सकेको छैन। फलत: संचालनको अन्तिम तयारीमा रहेको भनिएको पोखरा अन्तरराष्ट्रिय बिमानस्थल संचालनमा ढिलाई हुने हो कि भन्ने पोखरेली जनताको आशंका छ।

घोषणापत्रमा उल्लेख भएको ल्याण्डफिल्ड साइट र बसपार्क निर्माण कार्य शुरु सम्म गर्न नसकेका पोखरा महानागरपालिकाका मेयर मान बहादुर जिसीले ती दुवै आयोजना सम्पन्न गर्न छुट्टाइएको बजेट आफ्नो कार्यकालको अन्त्यतिर रकमान्तर गरेरको भेटिएको छ।

कार्यकालको अन्तिममा आएर १८ करोड ५२ लाख रुपैयाँ रकमान्तर गरेको पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटका लागि भनेर छुट्याइएको चार करोड रुपैयाँसमेत रकमान्तर गरेर अन्तै खर्च गरेको छ ।

पोखरा विमानस्थलले आगामी एक महिनाभित्र पोखराको बाच्च्छेबुडुवाबाट ल्याण्डफिल्डसाइट अन्यत्र नसार्ने हो भने बिमानस्थल निर्धारित समयमा संचालन हुन् नसक्ने जनाएको छ। पोखरा नागरिक उड्डयन प्राधिकरणले तीन वर्षदेखि ल्याण्डफिल्ड साइट ब्यबस्थापन गरिदिन गरेको पत्राचारलाई पोखरा महानगरपालिकाले बेवास्ता गरिदिदा संचालनको अन्तिम अवस्थामा जटिल परिस्थिति आएको हो।

फेवा नववर्ष २०७९ को उद्घाटन गर्न आएका पर्यटन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिनाभित्र पोखरा अन्तरराष्ट्रिय बिमानस्थल संचालन हुने घोषणा गरेका छन्। तर अहिलेसम्म बाच्च्छेबुडुवाबाट ल्याण्डफिल्डसाइट हट्न सकेको छैन। पोखरा महानगर पालिकाको अन्तिम कार्यपालिका बैठकले पोखरा ३३ मा ल्याण्डफिल्ड साइट सार्ने निर्णय गरेको छ र त्यही बैठकले ल्याण्डफिल्ड साइटका लागि छुट्टाइएको चार करोड रुपैयाँसमेत रकमान्तर गरेर अन्तै खर्च गरेको हो ।

हाल संचालनमा रहेको ल्याण्ड फिल्ड साइट निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको दक्षिण भागमा रहेको छ। त्यस ल्याण्डफिल्ड साइटमा गिद्धहरुको बासस्थान हुनुका साथै ल्यान्डफिल्ड साइतमा पाइने खाद्य पदार्थका लागि त्यहाँ गिद्धहरुको ओइरो लाग्ने गरेको छ। ती गिद्ध लगायतका चराहरुलाई अन्यत्र जाने बानी पार्न कम्तीमा पनि छ महिना लाग्ने चरा विज्ञहरु बताउछन।

अब त्यो ल्याण्डफिल्ड साइट सार्ने र नयाँ ठाउँमा ब्यबस्थापन गर्ने जिम्मा अब आउने महानगरका नयाँ जनप्रतिनिधिहरुको रहने देखिएको छ। महानगरले पछिल्ला तीन वर्षयता नीति तथा कार्यक्रम र बजेटमा ल्यान्डफिल साइटलाई प्राथमिकता दिँदै आएको भए पनि नयाँ जनप्रतिनिधिले काम शुरु गर्दा बर्षाको याम शुरु हुनेछ र नयाँ बजेट कार्यान्बयन गर्न शुतु गर्दा साउन महिना अघि ल्याण्डफिल्ड साइटको काम शुरु हुने अवस्था देखिन्न।

चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि ल्यान्डफिल साइटको लागि महानगरले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अस्वस्थ मेयर जिसी आफैँ उपस्थिति भएर साइटका लागि छुट्याइएको रकम नै रकमान्तर गरिदिएर महानगरबाट बिदा भएका छनं ।

सोही नगरसभाले महानगरले बसपार्क निर्माणको लागि विनियोजित एक करोड रुपैयाँ पनि रकमान्तर गर्ने निर्णय गरेको छ । स्मार्ट सिटी र बसपार्कको नारा दिएर पाँच वर्षअघि एमालेबाट चुनाव जितेका जिसीले अन्तिममा आएर त्यही बसपार्कको बजेट पनि रकमान्तर गरेका छन ।

चुनावको एजेन्डामा रहेको अर्को विषय फिर्के खोलाको पहिरो नियन्त्रणको एक करोड ८२ लाख रुपैयाँ, महानगर सफा गर्न बु्रमर खरिद गर्ने भनेर विनियोजन गरिएको दुई करोड ५० लाख, हाइड्रोलिक दमकल खरिदका लागि छुट्याइएको तीन करोड रुपैयाँ रकमान्तर गर्ने निर्णय नगरसभाले गरेको पाइएको छ ।

यसबाहेक, शिशुवा अस्पतालको भवन निर्माणका लागि छुट्याइएको एक करोड ५० लाख, प्रशासकीय भवन निर्माणका लागि विनियोजित ८० लाख, सभागृह हल मर्मतमा छुट्याइएको एक करोड, गुणस्तर प्रयोगशाला थप कोठा तथा सामग्री खरिदका लागि विनियोजित एक करोड रुपैयाँ र वडा नं. ४ को बहुउद्देश्यीय भवन निर्माणका लागि छुट्याइएको ९० लाख रुपैयाँ पनि रकमान्तर भएको छ ।

उक्त रकम महानगरले झन्डै ३०० टुक्रे योजनामा वितरण गरेको छ । महानगरका ठुला प्रोजेक्टको बजेट रकमान्तर गरेर आमा समूह, पँधेरो, नाला मर्मत, गेट निर्माण, ब्याडमिन्टन कोर्ट, स्ट्रिट नेम प्लेट बोर्ड, ट्रस्टमा खर्च गरेको छ ।

शनिश्चरी माई गुठीको नाममा एक लाख, माधव स्मृति भवन फर्निचरलाई २ लाख दिने निर्णय नगरसभाले गरेको छ । महानगरले ३३ वटै वडामा पर्नेगरि विविध योजनामा रकम खर्चेको छ । नयाँ योजनामा २६ वटा योजना मध्यम छन भने अधिकतम योजना १/२ लाखका पनि छन । कल्भर्ट, सडकको रंगरोगन देखि विद्यालय, मन्दिर, जातीय संस्था देखि व्यक्तिको घर जाने बाटोको नाममा महानगरले हरेक वडामा रकमान्तरित बजेटको कार्यक्रम बनाएर विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार