कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा ब्यबस्थापक र बचत संकलक कर्मचारीको मिलेमतोमा १२ करोड रुपियाँ हिनामिना भएको पुष्टि भएको छ।
कपिलवस्तु जिल्ला अदालतले कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्यहरुले संकलन गरेको करीब १२ करोड रुपियाँ ब्यबस्थापक र बचत संकलक कर्मचारीको मिलेमतोमा हिनामिना गरेको ठहर गरेको छ।
अदालतका न्यायधीश तेजेन्द्रप्रसाद सापकोटाको इजलासले त्यस सहकारीका व्यवस्थापक अभिनाषदेव पाण्डेय, पूर्व व्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताहरु श्रवणकुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई कसुरदार ठहराएको हो ।
२०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो । त्यस मुद्दामा कपिलवस्तु जिल्ला अदालतले तीन जना कर्मचारी र दुई जना बचत संकलकर्तालाई कसुदारदार ठहराएको र ४५ जनालाई सफाई दिएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले जानकारी दिए ।
अदालतको आदेशले पुर्पक्षमा रहने गरी राजेश, श्रवण र अभिनाष यसअघि नै थुनामा रहँदै आएका छन् । सो मुद्दामा थुनामा रहको कर्मचारी राकेशकुमार ठाकुरले भने सफाई पाएका छन् । यस्तै फरार प्रतिवादीहरु लक्ष्मी आचार्य, सुनिता अग्रहरी र बिनिता न्यौपानेको हकमा भने मुद्दा मुल्तबी राखिने आदेश भएको श्रेस्तेदार पाण्डेयले बताए ।
तीनै जना विदेश भएकाले अदालतमा हाजिर हुन नसकेको परिवार श्रोतले जनाएको छ । पदाधिकारीहरुको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने वादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ । अदालतमा २०६६ सालदेखि २०७६ सालसम्मका कार्य समिति उपसमिति कर्मचारीहरुलाई मुद्दा लगाएको थियो ।
सहकारी ऐन अनुसार चार वर्षदेखि ६ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था छ । कसुरदार ठहरिएका ५ जनालाई ३० दिनभित्र सजाय निर्धारण गरिने फैसलामा भनिएको छ । यस्तै मुद्दा चल्नु् पूर्व रहेका समिति र लेखा समितिलाई एक हप्ताभित्र विशेष साधारणसभा बोलाउन निर्देशन गरिएको छ । समितिलाई अदालतले विभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको छ ।
फैसला कार्यान्वयनका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५÷१५ दिनभित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको छ ।